चाइना ट्रेड सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

देश । न्यूरोडस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको बबरमहलमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदनअनुसार २०औँ वर्षमा प्रवेश गरेको संस्थाले सदस्यको विश्वास, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थामा १ हजार ९७५ शेयर सदस्य आबद्ध छन्। संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ, निक्षेप संकलन ७५ करोड रुपैयाँभन्दा बढी र कुल कर्जा लगानी करिब ३९ करोड रुपैयाँ पुगेको छ।

संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। साथै, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) तथा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) सम्बन्धी नियामकीय निर्देशन पालना गर्दै संस्थागत सुशासनलाई थप सुदृढ बनाएको जनाएको छ।

२९ जना संस्थापक सदस्यबाट सुरु भएको सहकारीले हाल खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट सदस्यलाई छिटो, छरितो र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आएको छ।

वित्तीय सेवासँगै संस्थाले सामाजिक उत्तरदायित्व तथा सदस्य सशक्तीकरणका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। १९औँ स्थापना दिवस तथा वार्षिक कार्ययोजनाअन्तर्गत बृहत् रक्तदान कार्यक्रम, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर, शेयर सदस्यको सहभागितामा पदयात्रा, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन गराउने कार्यक्रम र साना तथा मझौला व्यवसायी सदस्यको व्यावसायिक प्रवर्द्धनका लागि ‘चिटकोल डिजिटल क्याटालिस्ट’ डिजिटल मार्केटिङ तालिम सञ्चालन गरिएको थियो।

सभाले सञ्चालक समितिका तर्फबाट कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर बस्नेतद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरेको छ।

त्यस्तै, कोषाध्यक्ष कृष्णबहादुर गुभाजुद्वारा प्रस्तुत बाह्य लेखापरीक्षण प्रतिवेदनअन्तर्गत वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम, अनुमानित बजेट तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।

सभाले संस्थाको नाममा रहेका सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेका ऋणको व्यवस्थापन, अन्य सहकारी संस्थालाई संस्थामा एकीकरण गर्ने तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययनलगायत विषयमा विशेष प्रस्ताव पारित गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिवेशका बाबजुद चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य संख्या, शेयर पुँजी र बचत रकममा उल्लेखनीय वृद्धि गर्न सफल भएको बताउनुभयो।

उहाँले सामाजिक उत्तरदायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुका साथै एनएफआरएस प्रणालीको कार्यान्वयन र नियामकीय अनुशासन कायम राख्दै सदस्यबीच विश्वास आर्जन गर्न संस्था सफल भएको उल्लेख गर्दै अन्य सहकारीका लागि पनि अनुकरणीय रहेको बताउनुभयो।

काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था न्यूरोड क्षेत्रको एक सहकारी मात्र नभई स्थानीय विकासको साझेदार, उद्यमशीलताको प्रवर्द्धक र समृद्धिको सहयात्रीका रूपमा सदस्यको विश्वास जित्न सफल नमुना संस्था भएको बताउनुभयो।

सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले ‘सफल सहकारीका लागि सदस्यको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सभाको समापनमा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले संस्थाको २०औँ वर्षको गौरवमय यात्रामा निरन्तर साथ र विश्वास प्रदान गर्ने शेयर सदस्य, नियामक निकाय, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समूहप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा अझ परिष्कृत डिजिटल सेवा र सदस्यकेन्द्रित कार्यक्रममार्फत ‘सदस्य समर्पित अग्रणी सहकारी’को परिकल्पना साकार पार्ने तथा आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्यको समृद्धिमा योगदान पुर्‍याउने संस्थाको लक्ष्य हासिल गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्