फिल्म । नेपाली फिल्म ‘गौँथली’को निर्माण टोलीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क फिल्म हेर्न पाउने योजना ल्याएको छ । अभियानअन्तर्गत ६० वर्षभन्दा माथिका नागरिकले आगामी २६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) सम्म ‘गौँथली’ निःशुल्क हेर्न पाउनेछन् ।
निःशुल्क टिकटको सुविधा लिन भने खल्ती एपमार्फत टिकट खरिद गर्नुपर्नेछ । टिकट खरिद गरेपछि आवश्यक प्रक्रिया पूरा गर्ने ज्येष्ठ नागरिकको रकम खल्ती वालेटमा फिर्ता गरिने निर्देशक डा. कपिल रिजालले जानकारी दिए ।
रिफन्डका लागि नागरिकता र फोटो पठाउनुपर्नेछ । साथै, खल्तीमार्फत टिकट खरिद गरेको कारोबारको स्क्रिनसट तथा ‘गौँथली’को पोस्टर वा तस्बिर पृष्ठभूमिमा राखेर खिचिएको आफ्नो फोटो पेस गर्नुपर्नेछ ।निर्देशक रिजालका अनुसार योग्य प्रयोगकर्ताले खरिद गरेको कुल टिकट मूल्य बराबरको रकम सम्बन्धित खल्ती वालेटमा जम्मा गरिनेछ ।
निर्माण पक्षका अनुसार अभियानका लागि खल्तीमा अग्रिम रूपमा एक लाख रुपैयाँ जम्मा गरिनेछ । उक्त रकमबाट योग्य प्रयोगकर्तालाई टिकटको रकम फिर्ता गरिनेछ । अग्रिम रकम सकिएसम्म वा अभियानको अवधि समाप्त नभएसम्म, जुन पहिले हुन्छ, त्यतिबेलासम्म रिफन्ड प्रक्रिया सञ्चालन गरिनेछ ।
अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको निर्माण पक्षले जनाएको छ । फिल्मले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । शिक्षाको महत्व तथा श्रीमान्-श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मका निर्माता कपिल रिजाल र सुमन गिरी हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।












