बियोन्डको ‘झिम झिम’ सार्वजनिक

सङ्गीत । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत एफएसडी फिल्म्सको प्रस्तुतिमा तयार गरिएको गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया प्राप्त हुन थालेको छ ।

गीतमा शब्द स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले दिएका छन् । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको ‘झिम झिम’ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीतको भिडियो पी माधवले निर्देशन गरेका हुन् । भिडियोमा आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति देख्न सकिन्छ। कोरियोग्राफर दिपिका तामाङको कोरियोग्राफीले भिडियोलाई थप जीवन्त बनाएको छ।

भिडियोमा बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय रहेको छ। उनीहरूको अभिनय र अभिव्यक्तिले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया छ। प्राविधिक पक्षमा पनि भिडियो मजबुत देखिएको छ। भिडियोका डीओपी विवेक मगर हुन् भने छायांकन योन्जनले गरेका छन्। दृश्य सम्पादन सोवित मगरले गरेका हुन्।

कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वादको काम गर्ने प्रयास निरन्तर जारी रहने बताए । उनले दर्शक तथा स्रोताबाट प्राप्त साथ र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ सिर्जनासहित उपस्थित हुने बताए । सार्वजनिक भएको ‘झिम झिम’ गीत तथा भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न सकिनेछ। गीतको शब्द, संगीत, अभिनय र दृश्य प्रस्तुतिको संयोजनले यसलाई समकालीन नेपाली संगीत बजारमा आकर्षक प्रस्तुति बनाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्