कान्समा ‘एलिफेन्ट्स् इन द फग्‌’ छनोट

फिल्म । विश्वप्रसिद्ध ७९औँ कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स् इन द फग्‌’ छनोट भएको छ । यससँगै नेपाली फिल्मले अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ ।

अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती क्रिएसन्सको सहकार्यमा निर्माण भएको हो । यसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य रहेको छ । फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायका एक परिवारको कथा प्रस्तुत गर्छ ।

ग्रामीण यथार्थ र सामाजिक संवेदनालाई समेटिएको कथामा नयाँ अनुहारका कलाकारसहित गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती क्रिएसन्सको तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माता रहेका छ न्। मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका फिल्मकर्मीले समेत निर्माणमा साथ दिएका छन् । निर्देशक शाहले यसअघि आफ्नो लघु फिल्म ‘लोरी’बाट कान्समा पुरस्कार जित्दै नेपाली फिल्म क्षेत्रमा पहिचान बनाइसकेका छन् । ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता चर्चित फिल्मका पटकथाकार रहेका शाहको यो पहिलो निर्देशकीय डेब्यु फिचर फिल्म हो ।

फिल्मको छायांकन नोए बाक र सिरिलले गरेका छन् भने सम्पादन एन्ड्र्यू बर्ड र पेरिस बर्जनको रहेको छ । ध्वनि, संगीत, कला निर्देशन तथा अन्य प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता रहेको निर्माण पक्षले जनाएको छ ।

यस वर्षको कान्स फिल्म महोत्सव मे १२ देखि सुरु हुनेछ । उद्घाटन सत्रमा पियरे साल्भाडोरी निर्देशित सन् १९२० को परिवेशमा आधारित कमेडी फिल्म ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिने कार्यक्रम छ । महोत्सवको निर्णायक मण्डलको नेतृत्व दक्षिण कोरियाली चर्चित फिल्ममेकर पार्क चान वूकले गर्नेछन् । यस वर्ष बार्बरा स्ट्राइस्यान्ड र पिटर ज्याक्सनलाई मानार्थ पाल्मे ड’ओरबाट सम्मान गरिने घोषणा गरिएको छ ।

नेपाली फिल्मको करिब ६ दशक लामो इतिहासमा कान्स फिल्म महोत्सवमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो फिल्म बनेको बताइएको छ । निर्माण टिमले यस उपलब्धिलाई नेपाली फिल्म क्षेत्र र दर्शकसँग साझा गर्दै आगामी दिनमा अझै सशक्त नेपाली कथाहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्