‘एक्का तीन’मा पुष्प फाइनल

फिल्म । आउँदो वर्षको जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । फिल्मका निर्देशक रुपेश तामाङले कलाकार छनोटको काम तीव्र रूपमा अघि बढिरहेको र प्रि–प्रोडक्सनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । यस फिल्ममा नायिका पूजा शर्मा पहिले नै फाइनल भइसकेकी छन् । अब नायक पुष्प खड्काको पनि औपचारिक प्रवेश भएको छ। निर्माण टिमले पुष्पसँग कागजी सम्झौता गर्दै फिल्मको लाइनअप बलियो बनाएको छ ।

निर्देशक तामाङका अनुसार फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी गरिएको छ। फिल्ममा पुष्पको भूमिका कस्तो हुनेछ भन्ने विषय भने खुलाइएको छैन। निर्माणपक्षका अनुसार फिल्ममार्फत एक एक जना नव नायक र नव नायिकालाई पनि प्रस्तुत गर्ने योजना छ । सुमन गजमेरले फिल्मको कथा लेखेका हुन् भने फिल्मलाई जुना फिल्म्स र अधिरा फिल्म्सले निर्माण गर्दैछन् ।

पुष्प र पूजाले यसअघि फिल्म ‘३६ को आँकडा’मा पनि सँगै काम गरेका थिए । केही म्युजिक भिडियोमा समेत सहकार्य गरिसकेका यी दुईलाई दर्शकले ठूलो पर्दामा फेरि सँगै हेर्न उत्सुकता व्यक्त गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्