फिल्म । निर्देशक प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा बनेको फिल्म ‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी देवदत्त क्रियशनले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार आरम्भ गरेको हो।
सार्वजनिक पोस्टरमा प्रमुख कलाकार वरुण अधिकारी र रविना केसी फिचर्ड छन्। उत्सव पाण्डेले डिजाइन गरेको पोस्टरमा उनीहरूबीचको मौन प्रेमभाव प्रस्तुत गरिएको छ।
फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ र बाल कलाकार प्रन्शु चौधरीको अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक चौधरीकै हो। तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन्। महेश पौडेलको छायांकन रहेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ। पार्श्व ध्वनि सुशील डंगोल र सुदीप श्रेष्ठले तयार पारेका हुन् भने निर्माण व्यवस्थापन प्रमुख रिजन परियार रहेका छन्।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । निर्देशक चौधरीका अनुसार यसै साता आधिकारिक प्रदर्शन मिति घोषणा गर्दै प्रचार–प्रसारलाई तीव्र बनाइनेछ ।
निर्देशक चौधरीले ‘तरङ्ग’लाई सुपरनेचुरल लभस्टोरी (अलौकिक प्रेमकथा)को रूपमा प्रस्तुत गरेका छन्। समाजमा देखिँदै आएका परम्परागत प्रेमकथाभन्दा फरक शैलीमा फिल्म तयार गरिएको निर्माण टिमको दाबी छ । फिल्मको निर्माणमा देवदत्त क्रियशनसँग एबी फिल्मीले सहकार्य गरेको छ।










