कलर एसेन्सको प्रोडक्ट लन्च

देश । काठमाडौंमा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’का आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारी सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो ।

सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई नचाएका थिए । विशेषगरी बिन्दु परियारले डान्सिङ गीतमार्फत माहोललाई अझ रोमाञ्चक बनाएकी थिइन् । कार्यक्रमको उद्घाटन एसएमके इन्टरप्राइजेजका अध्यक्ष विश्व के.सी. र वरिष्ठ वितरक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गरेका थिए । निर्देशक मणिकर्ण के.सी.ले स्वागत मन्तव्य राख्दै कम्पनीलाई आगामी वर्ष अझ उचाइमा पुर्‍याउने लक्ष्य प्रस्तुत गरेका थिए।

कन्ट्री म्यानेजर रमेश उप्रेतीले कम्पनीको वार्षिक उपलब्धि र बिक्री प्रगतिको विवरण प्रस्तुत गरेका थिए। सो अवसरमा अध्यक्ष विश्व के.सी., निर्देशक के.सी. र उप्रेतीले संयुक्त रूपमा ‘ब्राइट एन्ड लाइट सनस्क्रिन’ सार्वजनिक गरेका थिए। उक्त उत्पादनले छालालाई हाइड्रेट गर्दै प्राकृतिक चमक दिने कम्पनीको दाबी छ।

कार्यक्रममा ‘बेस्ट स्टाफ अफ द इयर’अन्तर्गत चार जना टीएसआई र दुई जना टीएसओलाई सम्मान गरिएको थियो भने ‘बेस्ट डिस्ट्रिब्युटर अफ द इयर’अन्तर्गत तीन जना उत्कृष्ट वितरकलाई पुरस्कृत गरिएको थियो । अन्त्यमा अध्यक्ष विश्व के.सी.ले कम्पनीका भावी योजना प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।

कमेन्ट गर्नुहोस्