सौन्दर्य । महिला फेसन डिजाइनरहरूमा केन्द्रित ‘द नेसनल डिजाइनर रनवे २०२६’ को उपाधि आकृति श्रेष्ठले जितेकी छन्। उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा अनिशा थापा ‘फर्स्ट रनर अप’ र युनिका राई ‘सेकेन्ड रनर अप’ घोषित भए। त्यस्तै, प्रतिस्पर्धी सम्झना केसी ‘मस्ट पपुलर’, विविका पौडेल आत्मविश्वासी र आकर्षक प्रस्तुतीका साथ ‘बेस्ट रनवे मोडल’ घोषित भइन्।
एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपूतको नेतृत्वमा आयोजित यस वर्षको संस्करण विशेष रूपमा महिला फेसन डिजाइनरहरूलाई प्राथमिकतामा राखेर सम्पन्न गरिएको थियो। प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरहरूले सहभागिता जनाएका थिए। उनीहरूले महिला मोडलहरूका लागि लक्षित आकर्षक तथा आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए। परम्परा र आधुनिकताको समिश्रण झल्काउने डिजाइनहरूले रनवेमा दर्शकको ध्यान आकर्षित गरेका थिए।
यस वर्ष प्रस्तुत गरिएका धेरैजसो ड्रेसहरू अन्तर्राष्ट्रिय रेड कार्पेट फेसनबाट प्रेरित देखिएका थिए। विश्वका प्रतिष्ठित अवार्ड समारोहहरूमा देखिने ग्ल्यामरस शैलीलाई ध्यानमा राख्दै डिजाइनरहरूले बोल्ड कट, फ्लोइङ गाउन, हाई स्लिट, सिक्विन डिटेलिङ, मेटालिक टोन र एलिगेन्ट सिल्हुएट प्रयोग गरेका थिए।
केही कलेक्सनहरूमा हलिउड तथा बलिउड सेलिब्रिटीहरूको रेड कार्पेट शैली झल्किने गरी ड्रामाटिक ट्रेल, अफ–शोल्डर डिजाइन, डीप नेकलाइन र फ्युजन कुट्युर समावेश गरिएको थियो। नेपालीपन झल्काउन केही डिजाइनहरूमा ढाका, ह्यान्डमेड फेब्रिक तथा परम्परागत मोटिफलाई आधुनिक कटसँग संयोजन गरिएको थियो, जसले स्थानीय र विश्व फेसनबीच सन्तुलन प्रस्तुत गरेको देखिन्थ्यो।
फिनालेका निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, सुचिता साची र अश्विनी झा रहेका थिए। उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, सिर्जनात्मकता र समग्र प्रभावका आधारमा नतिजा घोषणा गरेका थिए। कार्यक्रमको होस्टिङ तथा कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए। आयोजक समितिमा यादवबहादुर थापा, परमानन्द चौधरी र शैलेश नेपाली रहेका थिए।










