नवनियुक्त प्रधानमन्त्री शाहद्वारा शपथ ग्रहण

देश । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले आजै बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यसपटक प्रधानमन्त्रीको शपथ वैदिक सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनाद गरिएको थियो भने १०८ जना बटुकले स्वस्ति शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ मङ्गल पाठ गरेका थिए । प्रधानमन्त्री शाहलाई बिहीबार पार्टीले संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको थियो ।

कमेन्ट गर्नुहोस्