‘मुक्तिपुर’ फिल्मको छायांकन सुरु

फिल्म । नेपाली कथानक फिल्म ‘मुक्तिपुर’ को शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको छ । काठमाडौँको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै मंगलबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो ।

सुनिल पाण्डेको निर्देशनमा बन्ने यो फिल्म साहिबा फिल्मस् प्रोडक्सन को ब्यानरमा एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुँदैछ । विभिन्न छोटा फिल्म र वृत्तचित्र निर्देशनमा अनुभव बटुलेका निर्देशक पाण्डेको यो ठूलो पर्दाको डेब्यु निर्देशन हो । फिल्मको कथा पनि निर्देशक पाण्डेकै रहेको छ ।

पछिल्लो १० वर्षदेखि फिल्म अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनि शिक्षामा सक्रिय एभरेष्ट फिल्म एकेडेमीले पहिलोपटक फिल्म निर्माणमा पाइला अघि बढाएको हो।

फिल्मका निर्माता विजय राजवंशी र रोशन पासवान हुन् भने कार्यकारी निर्माता विशाल श्रेष्ठ र सह निर्माता केशव गौतम रहेका छन् । लाइन प्रोड्यूसरका रूपमा सञ्जय गुरुङ र सुरज चौधरी छन् । फिल्ममा द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायांकन सरद महतो, कला निर्देशन अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारी रहेका छन् ।

क्राइम रिभेन्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा प्रस्तुत गर्नेछ । निर्देशक पाण्डेका अनुसार एक परिवारसँग सम्बन्धित पात्रको जीवनमा घट्ने घटनापछि उत्पन्न परिस्थितिसँग जुध्दै सफलतासम्म पुग्ने संघर्षको कथा फिल्मले देखाउनेछ । फिल्ममा नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती मुख्य भूमिकामा छन् । साथै आकृति बुढाथोकी ले यस फिल्मबाट अभिनेत्रीका रूपमा ठूलो पर्दामा डेब्यु गर्दैछिन् । ४० दिनको छायांकन तालिकासहित फ्लोरमा गएको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

कमेन्ट गर्नुहोस्