डाक्टर बनिन् श्रीलीला

फिल्म । भारतीय अभिनेत्री श्रीलीला डाक्टर बनेकी छन् । उनले मेडिकल अध्ययनमा डिग्री हासिल गरेकी हुन् । पछिल्ला ६ वर्षदेखि फिल्म उद्योगमा सक्रिय रहँदै आएकी उनले अध्ययन पनि निरन्तर जारी राखेकी थिइन् । श्रीलीलाले मुम्बईस्थित डीवाई पाटिल विश्वविद्यालयबाट एमबीबीएस डिग्री हासिल गरेकी हुन्।

फेब्रुअरी १० मा आयोजित दीक्षान्त समारोहका तस्बिर तथा भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अभिनेत्रीको यो उपलब्धिप्रति प्रशंसकहरूले खुसी व्यक्त गरिरहेका छन् ।

समारोहमा श्रीलीला मरुन रंगको गाउनमा सजिएर मञ्चमा आफ्नो डिग्री ग्रहण गरिरहेको देखिएकी छन् । उनले सहपाठीहरूसँगै लाइनमा बसेर प्रमाणपत्र लिइन् र परिवारसँग खुसी साटासाट गरिन् । भिडियोमा उनी साथीहरूसँगै चिकित्सकले लिने सपथ लिइरहेको पनि देख्न सकिन्छ ।

सन् २०२० ब्याचकी विद्यार्थी श्रीलीला डाक्टर बनेको घोषणा हुँदा त्यहाँ उपस्थित सबैले खुसी मनाएका थिए । उनको अनुशासन र लगनशीलताले फ्यानहरूलाई अचम्मित बनाएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले ‘फिल्ममा काम गर्दागर्दै मेडिकल पढाइ कसरी पूरा गर्नुभयो?’ भन्दै उनको मेहनतको प्रशंसा गरेका छन् ।

तेलुगु परिवारमा जन्मिएकी श्रीलीलाकी आमा स्वर्णलता बेङ्गलुरुकी प्रसिद्ध स्त्रीरोग विशेषज्ञ हुन् । श्रीलीलाले कन्नड फिल्म ‘किस’बाट मुख्य भूमिकामा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘धमाका’, ‘भगवन्त केसरी’, ‘गुन्टुर कारम’, ‘रोबिनहुड’ र ‘मास जथारा’ लगायतका फिल्ममा रवि तेजा, बालकृष्ण र महेश बाबुजस्ता सुपरस्टारहरूसँग काम गरिसकेकी छन् ।

उनी ‘पुष्पा २’ को चर्चित गीत ‘किस्सिक’मा पनि देखिएकी थिइन् । अब उनी अनुराग बसुको रोमान्टिक फिल्ममार्फत कार्तिक आर्यनसँग जोडी बनेर बलिउडमा डेब्यु गर्दैछिन् भने पवन कल्याणसँगको ‘उस्ताद भगत सिंह’ पनि उनको आगामी फिल्म हो ।

कमेन्ट गर्नुहोस्