सलोन सलिना फिल्म्सको नयाँ फिल्म घोषणा

फिल्म । सलोन सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ । ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले फिल्मको प्रस्तुती गर्ने भएका छन् । फिल्मको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ ।

फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह निर्मातामा हिमाल भण्डारी रहेका छन् । क्यामेरामा सौरभ लामा तथा द्वन्द्व निर्देशन हिमाल केसीको रहनेछ । यसै फिल्ममार्फत केसी फिल्म क्षेत्रमा पुनः सक्रिय हुन लागेका हुन् । उनले पछिल्लो समय फिल्म ‘पिताम्बर’मा काम गरेका थिए ।

निर्माण टिमका अनुसार फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिनेछ । कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै अन्तिम टुंगो लगाइने जनाइएको छ ।

निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गरेका छन् । सो टुर सकिएलगत्तै फिल्मको छायांकन सुरु गरिनेछ । अस्ट्रेलियाबाट ‘पीआर’ फिल्मका केही कलाकार दोहोरिने जानकारी पनि दिइएको छ । फिल्ममा दुई नायक र दुई नायिका रहनेछन् । तीमध्ये एक नायक र एक नायिका चर्चित अनुहार हुने निर्देशक बस्नेतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्