फिल्म । गत वर्ष प्रदर्शनमा आएको अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्म ‘वीराङ्गना’ का प्रस्तुतकर्ता रघु परियारले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । शनिबार आफ्नो जन्मदिन मनाउँदै उनले ‘मन परेसी पर्यो पर्यो’ नाममा फिल्म बनाउने घोषणा गरेका हुन् । रुपेश थिङ तामाङले फिल्मको निर्देशन गर्नेछन् ।
उनी लभस्टोरी फिल्म बनाउन कसिएका छन् । फिल्मको तिहारपछि छायांकन सुरु हुने बताइएको छ । यसअघि ‘जय शम्भु’ निर्देशन गरेका निर्देशक रुपेशले फिल्मलाई निर्देशन गर्दैछन् । बुझिए अनुसार फिल्ममा लिड अभिनेत्रीका लागि साम्राज्ञी आरएल शाहसँग कुरा गर्ने सोचमा निर्माण टिम छ । फिल्ममा लभस्टोरीसँगै कमेडी र एक्सनको पनि समिश्रण रहने निर्माता परियारले जानकारी दिए ।
फिल्मको कार्यकारी निर्माता चक्र पाख्रिन तामाङ छन् । कृष्ण परियार र रबिना थापा मगर निर्माता रहेको फिल्मका कलाकारको टुंगो केही दिनमै लगाइने निर्देशक तामाङले बताए । फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने ‘मन परेसी पर्यो पर्यो’ यही बर्षको अन्त्यमा दर्शकमाझ ल्याउने निर्माण टिमको तयारी छ ।










