फिल्म । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मुहूर्त सम्पन्न भएको छ । मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको हो। फिल्मका निर्देशक ऋत बोहोराले आजैबाट छायांकन सुरु गरिएको जानकारी दिँदै अधिकांश छायांकन काठमाडौं र आसपासका क्षेत्रमा हुने बताए। उनले फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्ने उल्लेख गरे।
यस फिल्ममार्फत निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलो पटक एउटै पर्दा साझा गर्न लागेका हुन्। फिल्ममा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम लगायत कलाकारको अभिनय रहनेछ। विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन्।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक ऋत बोहोराले नै लेखेका हुन्। फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। आलोक शुक्ला छायांकार रहेका छन् भने प्रमुख सह निर्देशक ललित बिष्ट हुनेछन्। फिल्मको संगीत प्रशान्त शिवाकोटीको रहनेछ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्नेछन्।










