अरिजितलाई भेट्न आमिर पुगे जियागञ्ज

सङ्गीत । भारतीय गायक अरिजित सिंहले फिल्मी गायन छाडेको घोषणा गरिसकेका बेला उनी फिल्म निर्देशनमा डेब्यू गर्न लागेको खबर सार्वजनिक भएको छ । यस खबरले संगीतप्रेमी र उनका फ्यानलाई स्तब्ध बनाइरहेकै समयमा बलिउडका ‘मिस्टर पर्फेक्टनिस्ट’ आमिर खान उनलाई भेट्न पुगेका छन् । आमिर अरिजितलाई भेट्न उनकै घर पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भिडियोमध्ये एकमा आमिर चङ्गा उडाइरहेको देखिन्छन्, जहाँ उनलाई साथ दिन उनका टिमका सदस्यहरू पनि उपस्थित छन् ।

यस भिडियोमा फ्यानहरूले थुप्रै प्रतिक्रिया जनाएका छन् । धेरैले अरिजितले फिल्मी गायनबाट सन्न्यास लिने घोषणा गरेकै बेला आमिर उनलाई भेट्न किन पुगे होलान् भन्ने विषयमा चासो व्यक्त गरेका छन् ।

सार्वजनिक भएका अन्य भिडियोमा आमिरको व्यस्तता र फ्यानको क्रेज प्रष्ट देखिन्छ। एक भिडियोमा आमिर गाडीबाट ओर्लिँदै गर्दा त्यहाँ उपस्थित पापाराजीलाई हात जोडेर नमस्कार गर्दै अभिवादन गरिरहेका छन् । अर्को भिडभाडपूर्ण भिडियोमा भने आमिर गाडीभित्रै बसिरहेका बेला बाहिर फोटोग्राफरहरू स्पष्ट तस्वीर खिच्न ठेलमठेल र धक्का मुक्की गरिरहेको देखिन्छ ।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले रमाइला र चाखलाग्दा टिप्पणी गरिरहेका छन् । धेरैको अनुमान छ कि आमिर अरिजितलाई आफ्नो सन्न्यासको निर्णय पुनर्विचार गर्न मनाउन पुगेका हुन् र उनी फेरि फिल्ममा गाउन फर्कून् भन्ने चाहना राखिरहेका छन् ।

यद्यपि, हालसम्म आमिर र अरिजितबीचको भेटको वास्तविक कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । यो केवल मित्रताको भेट हो वा कुनै नयाँ प्रोजेक्टसम्बन्धी छलफल, त्यो खुल्न बाँकी नै छ । अरिजितको घर पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जियागञ्जमा रहेको छ। ‘कलकत्ता टाइम्स’ को रिपोर्टअनुसार, आमिर खान विशेष रूपमा अरिजितलाई भेट्न जियागञ्ज पुगेका हुन् र उनी त्यहाँ दुई दिन बस्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्