फिल्म । अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर २’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्ड लामो टिजरमा रणवीर सिंह पुनः एकपटक दमदार र खतरनाक अवतारमा देखिएका छन् । यद्यपि सार्वजनिक टिजरले फ्यानलाई भने निराश बनाएको छ । फिल्मको सार्वजनिक टिजर नयाँ नभई ‘धुरन्धर’ कै क्लाईमेक्समा प्रयोग गरिएको दृश्यलाई समेटेर तयार गरिएको छ ।
नयाँ टिजर आउने अपेक्षामा रहेका फ्यान पुरानै टिजर देखेपछि निराश भएका हुन् । टिजरमा रणवीर हमजा अली मजारीको भूमिकामा फर्किएका छन्, जहाँ यसपटक जसकीरत सिंह रङ्गी कसरी हमजामा रूपान्तरण भयो र उसको परिवारले भोग्नुपरेको संकटको कथा प्रस्तुत हुने संकेत गरिएको छ।
फिल्मको दोस्रो भागमा कलाकारहरूको जम्बो टोली देख्न पाइनेछ । टिजरमा रणवीरसँगै अर्जुन रामपाल, सञ्जय दत्त र आर. माधवनको झलक देखाइएको छ। अर्जुन रामपालले ‘मेजर इकबाल’ नामक मुख्य खलनायक (आईएसआई एजेन्ट) को भूमिका निभाएका छन् भने सञ्जय दत्त एसपी चौधरी असलमको भूमिकामा देखिएका छन् । यस्तै, आर. माधवन अजय सान्यालको भूमिकामा पुनः देखिनेछन्।
पहिलो भागमा मृत्यु भइसकेका कारण अक्षय खन्ना भने टिजरमा देखिएका छैनन् । उनलाई फ्ल्यासब्याक दृश्यहरूमा मात्र देख्न सकिने सम्भावना रहेको बताइएको छ । फिल्मको पूरा नाम ‘धुरन्धर : द रिभेन्ज’ राखिएको छ । यस हाई एक्शन स्पाइ थ्रिलर फिल्मलाई आदित्य धरले लेखन तथा निर्देशन गरेका हुन् । फिल्म आगामी १९ मार्चमा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा हलहरूमा प्रदर्शन हुनेछ ।










