फिल्म । व्यावसायिक एक्शन र हास्यप्रधान फिल्मका लागि चिनिएका निर्देशक रोहित शेट्टीले यसपटक फरक धारको फिल्म निर्माण गरेका छन् । चर्चित प्रहरी अधिकृत राकेश मारियाको जीवनकथामा आधारित उनको नयाँ फिल्मले ग्रिटी (कठोर यथार्थपरक) एक्शन प्रस्तुत गर्नेछ । यद्यपि, दर्शक आकर्षित गर्ने व्यावसायिक तत्त्वहरू पनि फिल्ममा समावेश गरिएको बताइएको छ ।
फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ भने शीर्षक भने अहिलेसम्म गोप्य राखिएको थियो । तर भारतीय मिडिया बलिउड हंगामाको रिपोर्टअनुसार, निर्माता टिमले फिल्मको सम्भावित शीर्षक ‘मारिया आईपीएस’ तय गरेको छ ।
‘अन्य शीर्षकबारे पनि छलफल भएको थियो, तर प्रायः निश्चित रूपमा फिल्म ‘मारिया आईपीएस’ नाममै आउनेछ । अन्तिम निर्णय एक महिनाभित्र गरिनेछ, त्यसपछि शीर्षकसँगै रिलिज मिति पनि सार्वजनिक गर्ने तयारी छ’, बलिउड हंगामाले लेखेको छ ।
फिल्मको तयार स्वरूपप्रति निर्माण टिम उत्साहित देखिएको छ । यो फिल्ममार्फत रोहित शेट्टीले दर्शकले अहिलेसम्म नदेखेको नयाँ किसिमको व्यावसायिक फिल्म निर्माण शैली प्रस्तुत गर्ने भनिएको छ ।
फिल्मको अधिकांश छायांकन दक्षिण तथा मध्य मुम्बईका वास्तविक लोकेसनमा गरिएको छ । साथै, सन् २०२५ को जुलाई र अगस्टमा एलोरा स्टुडियो (मुम्बई नजिक) मा प्रहरी चौकीको सेट बनाएर छायांकन गरिएको थियो । ‘मारिया आईपीएस’ को छायांकन सकिएपछि निर्शेदेशकट्टीले आगामी फेब्रुअरीबाट चर्चित हास्य फिल्म श्रृंखलाको नयाँ संस्करण ‘गोलमाल ५’ को छायांकन सुरु गर्ने तयारी गरेका छन् ।










