ककनीमा देखाईयो लैङ्गिक हिंसाविरुद्धको ‘आह्वान’ सडक नाटक

थियटर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सशक्त बनाउने उद्देश्यसहित नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न लक्षित यो नाटक आदिइत्यादि समूहले प्रस्तुत गरेको हो । ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, ककनीमा प्रस्तुत गरिएको थियो। नाटकले विद्यार्थी तथा स्थानीय समुदायलाई लैङ्गिक हिंसाका बहुआयामिक स्वरूपबारे सचेत गराउने उद्देश्य बोकेको छ।

गाउँपालिका उपाध्यक्ष मिठ्ठु माया तामाङले कलाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भनिन्, ‘कला समाज परिवर्तनको सशक्त माध्यम हो । ‘हिंसा सहने होइन, आवाज उठाउने हो’ भन्ने सन्देशसहित ‘आह्वान’ नाटक प्रस्तुत गरेका छौँ । यसले सबैलाई हिंसाविरुद्ध एकजुट हुन प्रेरित गरोस् भन्ने अपेक्षा छ ।’

करिब ५० मिनेट लामो नाटकले घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, मानसिक यातना र डिजिटल युगमा बढ्दै गएको साइबर बुलिङजस्ता विषयलाई सशक्त र भावनात्मक रूपमा चित्रण गरेको छ । महेन्द्र मावि चतुरालेका प्रधानाध्यापक शशि कुमार थपलियाले सडक नाटक प्रभावकारी संचार माध्यम भएको बताउँदै भने, ‘सड़क नाटकले धेरैलाई एकैपटक सन्देश दिन्छ र भावनात्मक रूपमा जोडिन्छ। यस्तो कार्यक्रमले विद्यार्थीको सामाजिक संवेदनशीलता अभिवृद्धि गर्छ ।’

गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कविता काफ्लेको भनाइ छ, ‘लैङ्गिक हिंसा अन्त्यका लागि कानुन मात्र पर्याप्त हुँदैन, सामाजिक चेतनाको स्तर उकास्नु पनि जरुरी छ। विद्यालयस्तरमै चेतनामूलक प्रस्तुति हुनु निकै प्रभावकारी र समयानुकूल छ ।’

वडा नम्बर–४ का अध्यक्ष सोनाम लामा तथा शिक्षिका लक्ष्मी अधिकारीले नाटकले विद्यार्थी, शिक्षक र अभिभावक सबैमा सकारात्मक प्रभाव पारेको बताए ।शिक्षक एवं कवि सन्तोष सरिलले नाटकले घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार र साइबर बुलिङजस्ता बहुआयामिक पक्षहरूबारे समुदायमा गहिरो चेतना फैलाएको उल्लेख गरे।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको ‘आह्वान’ मा कलाकार सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, निस्सोम मगर, अन्जना दुलाल, अन्जु खड्का र सन्ध्या नेपालको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्