फिल्म । विदेशमा बस्दै आएकी कलाकार बिनिता कार्की नेपाली फिल्म ‘पीआर’ मार्फत मुख्य भूमिकामा डेब्यू गर्न तयारी अवस्थामा छिन् । मङ्सिर २६ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्मको प्रचारप्रसारका लागि उनी हाल नेपाल आएकी छन् । अष्ट्रेलिया पुगेका नेपाली युवाको कथालाई केन्द्रमा राखेर बनेको यस फिल्ममा अभिनय गर्न पाउँदा उनी उत्साहित छिन्।
बिनिताका अनुसार सानै उमेरमा रेखा थापा, झरना थापा र निरुता सिंहको अभिनय हेरेर उनी अभिनेत्री बन्ने सपनासहित हुर्किएकी थिइन् । ‘उहाँहरूको नक्कल गर्दै-गर्दै आज म आफैँ फिल्ममा खेल्दैछु’, उनले भनिन् । निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’मा मुख्य भूमिकामा अवसर पाइएपछि उनी आफ्नो बाल्यकालको सपना पुरा भएको बताउँछिन् ।
बिनिताको भनाइमा, फिल्म ‘पीआर’मा उनी फेसबुकमार्फतै जोडिएकी हुन् । ‘एक दिदीले फेसबुकमा मेन्सन गरिदिनुभयो । त्यसपछि अडिसनबारे थाहा पाएँ र सहभागी भएँ’, उनले भनिन् । अडिसनमा छानिए पनि अन्तिम निर्णयका लागि निर्देशक बस्नेतले इन्टरभ्यु लिएका रहेछन् । इन्टरभ्युपास भएपछि मात्र उनी फिल्ममा अनुबन्धित भइन् ।
सन् २०१८ तिर नेपालमै मोडलिङ सुरु गरिएकी बिनिता अष्ट्रेलिया गएपछि केही समय त्यति सक्रिय हुन सकिनन् । तर फिल्ममा काम गर्ने सपना भने कहिल्यै हराएन । अभिनय औपचारिक रूपमा नसीकेकी उनी निर्देशन राम्रो भए अभिनय सहज हुने बताउँछिन् ।
‘पीआर’ सफल भए नेपालको फिल्म क्षेत्रमा नै करिअर बनाउने योजना उनले अघि सारिन् । ‘फिल्म हेरेर दर्शकका प्रतिक्रिया सुन्न आतुर छु’, उनी भन्छिन् ।फिल्म ‘पीआर’को गीत र ट्रेलरले राम्रो चर्चा पाइरहेको छ । अभिनेत्री कार्कीले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छन् ।
फिल्ममा अभिनेत्री कार्कीसँगै सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । बन्दे प्रसादको सम्पादन रहेको फिल्मको ट्रेलर पनि उनले नै तयार पारेका हुन् । फिल्मको कथा गणेश बुढाथोकीले लेखेका छन् ।
फिल्मलाई सौरभ सायमी र सौरभ लामाले छायांकन गरेका छन् । फिल्मका गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको पीआर को वितरण आरआर फिल्म्सले गरिरहेको छ ।










