माघ २३ मा ‘रमिताको पिरती’

फिल्म । सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म माघ २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको जोडीमा नायकहरू धीरज मगर र विनय श्रेष्ठ तथा डेब्यु नायक समीर श्रेष्ठ छन् ।

गायक समीर श्रेष्ठ यो फिल्मबाट पर्दामा नायकको रूपमा उदाउँदै छन् । महिला केन्द्रित यो फिल्मको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरि यो फिल्म बनेको छ ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ । फिल्मका निर्माता सागर लम्साल हुन् ।फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । शिशिर विशंखेको डीओपी रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर र कातिक बरालको कोरियोग्राफी छ ।

यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो फिल्ममा संगीतकारको रूपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए । यस्तै, नायिका आना शर्माले ४ वर्षअघि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दै दर्शकलाई यो फिल्मको कथावस्तु मन पर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्