फिल्ममार्फत आरोपको जवाफ दिएको छु : टंक

फिल्म । सङ्गीतकार टंक बुढाथोकीले गायक अशोक दर्जीको अभिभावकत्व लिएपछि विभिन्न आरोपको सामना गर्नुपरेको थियो । अशोकको लोकप्रियताको आडमा आफू चर्चामा आउन खोजेको, अशोकलाई नियन्त्रणमा राखेको जस्ता आक्षेप अझै पनि उनमाथि लागिरहेका छन् । अब यी आरोपको एकमुष्ठ जवाफ उनले फिल्ममार्फत दिने बताएका छन् ।

अशोकको जीवनीलाई आधार बनाएर तयार गरिएको फिल्म ‘मन बिनाको धन’ मा समाजले आफूलाई तेर्साएको प्रश्नको जवाफ रहेको उनले बताए । उनले भने,‘मैले समाजलाई धेरै कुराको उत्तर दिनुपर्ने थियो । फिल्ममार्फत सबै उत्तर दिएको छु । यो फिल्म बनाउनुको मुख्य उद्देश्य भनेकै अशोकका लागि म गलत थिइनँ र छैन भन्ने हो । मैले भोगेका कुरा मैले नै देखाउनुपर्छ भनेर यो फिल्म बनाएको हुँ ।’

आगामी शुक्रबार (२१ कात्तिक) देखि प्रदर्शन हुन लागेको यो फिल्मलाई टंक स्वयंले निर्देशन गरेका हुन् भने अशोक मुख्य भूमिकामा छन् । अशोकको संघर्षदेखि सफलतासम्मको कथामा टंकले फिल्म बनाएका हुन् ।

बाटोमा गीत गाउँदै माग्दै हिँड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको परिधिमा रहेर निर्माण गरिएको यस फिल्ममा सामाजिक विषयवस्तु प्रस्तुत गरिएको छ ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन् । यस्तै, जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा छन् ।

टिकाराम बुढाथोकी फिल्मका क्रिएटिभ निर्देशक हुन् ।फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्