फिल्म । निर्देशक विजय केरुङको निर्देशनमा तयार भएको फिल्म ‘परिवर्तन’ को विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन् । टिजर रिलिजसँगै कतार, यूएई र जापानमा बिक्री भएको हो । कतार र यूएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको छ भने जापानको अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक शिवाकोटीले बताए ।
उनले अहिले फिल्मको प्रदर्शन अधिकार जापान, यूएई र कतारमा विक्री भइसकेको र अन्य देशका लागि समेत कुराकानी भइरहेको जानकारी दिए । विदेशी बजारमा अधिकार बिक्री भएसँगै ‘परिवर्तन’ प्रति दर्शक र वितरकको उत्साह बढेको देखिन्छ । निर्देशक केरुङका अनुसार यो फिल्म नेपाली सिनेमालाई नयाँ स्तरमा पु¥याउने प्रयास हो ।
देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’ को टिजरमार्फत दर्शकले बुझिसकेका छन् । निर्माण पक्षले केही दिनअघि अर्थात् छठ पर्वको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको थियो। टिजरले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारविरुद्ध युवाहरूको आवाज र देशबारे सोच्ने बेला आएको सन्देश दिएको छ ।
आगामी माघ ९ गतेबाट नेपालमा प्रदर्शन हुने यो फिल्मले सामाजिक परिवर्तनको कथा प्रस्तुत गर्दछ। यस फिल्ममा अभिनेता सुशिल श्रेष्ठलाई एक्सन हिरोको रूपमा देख्न सकिन्छ । टिजर रिलिजसँगै उनको चर्चा चुलिन थालेको छ। निर्माता दीपक शिवाकोटीले आफैं लेखेको यो फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु विष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् भने संगीत एस.डी. योगीको छ। श्री श्रेष्ठको एक्सन निर्देशन रहेको यो फिल्ममा शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन छ । नेपालभरको हलमा वितरणको जिम्मा आरआर फिल्म्सले लिने छ भने डिजिटल पार्टनर ओएसआर रहेको छ ।










