सङ्गीत । अभिनेता पल शाहको हातमा हथकडी लागेको दृश्यले दर्शकको ध्यान खिचेको छ । तर, यो दृश्य वास्तविक नभई हालै रिलिज भएको ‘बेली चमेली’ बोलको गीतको भिडियोको हो । भारतीय अभिनेत्री श्वेता महराले पल शाहको हातमा हथकडी लगाएको यो दृश्य मशकबिन स्टुडियोजको प्रस्तुतिमा बनेको उक्त गीतको भिडियोमा समेटिएको छ ।
संगीतकार राजेन्द्र बजगाईंको शब्द र संगीतमा तया गीतमा भारतीय गायिका स्वाती भाटको दमदार स्वर छ । मशकबिन स्टुडियोजको नेपाली युट्युब च्यानल ‘मशकबिन नेपाल’मार्फत सार्वजनिक भएको यो गीतमा बिनोद ढकालको र्यापले थप आकर्षण थपेको छ । मुम्बईमा रहेर काम गर्ने संगीत संयोजक निशाद चन्द्राको संगीत संयोजन र बलिउडमा ख्याति कमाएका मनीभनन आनन्दनले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
कविराज गहतराजको निर्देशन र कोरियोग्राफीमा बनेको यो भिडियोमा श्वेता महराको अभिनय र नृत्यले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । निर्देशक गहतराजले पललाई फरक शैलीमा प्रस्तुत गरिएको बताएका छन् । नेपाली र भारतीय कलाकारको सहकार्यले यो भिडियो विशेष बनेको उनको भनाइ छ।
भिडियोमा राज टाइगर, बिन्दु रसाइली, रेन्सीका खत्री र शुरक्षा तामाङको पनि अभिनय र नृत्य छ । गीतको भिडियोमा बलिउडका ठूला कलाकारका लागि हेयर डिजाइन गरिसकेका भारतीय हेयर स्टाइलिस्ट विवेक कुमारले हेयर डिजाइन गरेका छन् । मेकअपमा शन्तु तामाङ र सरोज पाण्डे, ड्रेसमा कुसुम बुटिक, प्रोजेक्ट म्यानेजरमा वेद शर्मा र अमिशा सुयाल, आर्टमा जट्टा शंकर र फोटोग्राफीमा रक कौशलले योगदान दिएका छन् ।
छायांकन सुदिप बराल एन्ड टिमले गरेको यो भिडियोको सम्पादन बन्दे प्रसाद, कलर ग्रेडिङ रेनिस फागो र पोस्टर डिजाइन राकेश दहालले गरेका छन् । प्रोडक्सनको जिम्मेवारी अर्जुन पोखरेलले सम्हालेका छन् । यसअघि राजेन्द्र बजगाईंको ‘पुतली’ गीतले चर्चा कमाएको थियो भने मशकबिन स्टुडियोजका ‘मेरा सैंया जी’, ‘चाहका होटल’, ‘किरिम पाउडर’ र स्वाती भाटका ‘राम दाईका होटल’, ‘सिलामी’ जस्ता भारतीय गीतहरूले नेपालमा समेत लोकप्रियता हासिल गरेका छन् ।










