फिल्म । गत असोज ३१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । रिलिजको पहिलो दिनदेखि नै हाउसफुल विजनेससहित हलमा प्रवेश गरेको यो फिल्मले प्रदर्शनको नवौं दिनमा एक करोडभन्दा माथिको ग्रस विजनेस गरी नयाँ किर्तिमान कायम गरेको छ ।
दोस्रो साताको विजनेसमा एकै दिन करोडभन्दा माथिको कलेक्सन नेपाली फिल्म उद्योगका लागि दुर्लभ जस्तै हुँदै आएकामा युवा स्टार अनमोल केसी अभिनित यो फिल्मले सफलता प्राप्त गरेको हो । ‘जेरी अन टप’ले यस वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको रूपमा आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ । निर्माता सरोज न्यौपानेका अनुसार, फिल्मले शनिबार मात्र १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ ।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्रले प्रदर्शनको नवौं दिनमा एकै दिन एक करोडको माइलस्टोन क्रस गरेको जानकारी गराएका हुन् । एकपछि अर्को दिन आक्रामक विजनेसलाई निरन्तरता दिएको फिल्म प्रति दर्शकको क्रेज आइतबार पनि उस्तै देखिएकाले यो क्रमले निरन्तरता पाउने संकेत अग्रिम बुकिङले देखाएको छ ।
अग्रिम अनलाइन बुकिङमा फिल्मले अफ डे मानिने आइतबार (आज) पनि सोही प्रकृतिको विजनेस गर्ने देखिएको छ । आइतबारका शोहरू पाएका देशभरका अधिकांश हलहरू शो सुरु हुनुभन्दा अगावै हाउसफुल भइसकेका छन् । राजधानी काठमाडौँसँगै मोफसलका प्रमुख शहरदेखि ग्रामीण भेगका हलहरूमा समेत फिल्मप्रति दर्शकको आकर्षण उच्च देखिएको छ ।
फिल्ममा जोडिएका कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउन्ड स्कोर तथा सम्पादनलगायतका पक्षले उत्कृष्ट तारिफ पाएका छन् । दर्शकहरूले फिल्मका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रीलाई उत्कृष्ट भनेका छन् ।
साथै, लामो समयदेखि पर्दामा पुनरागमन गरेका अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको अभिनयले पनि दर्शकबाट प्रशंसा पाएको छ । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मको दृश्यांकन दुलिप रेग्मीले गरेका हुन् । अनन्या फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मले पहिलो सातामै ५ करोडभन्दा माथिको कलेक्सन गरिसक्दा त्यसपछिको पूर्ण कलेक्सन रिपोर्ट भने बाहिर आएको छैन ।










