फिल्म । आगामी कार्तिक १४ गतेदेखि रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरूलाई थप आकर्षित गर्न १ लाख नगद पुरस्कार सहितका पुरस्कारहरू घोषणा गरेको छ । फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिता घोषणा गर्दै शो पुरस्कार राशि सार्वजनिक गरेको हो । यस प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा रहेको ‘परान’ को तस्वीर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुरा उल्लेख गर्न सक्नेछन् । साथै, उक्त पोस्टमा फिल्मको आधिकारिक फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।
निर्माण पक्षका अनुसार, तस्बिरमा आफ्नो परानका रूपमा बुबा, आमा वा दुवै, श्रीमान्, श्रीमती वा प्रेमीप्रेमिका, साथी वा दाजुभाइ तथा दिदीबहिनीमध्ये जोसुकैसँगको फोटो पोस्ट गर्न सकिनेछ । यस्ता पोस्टमध्ये १ जनाले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट प्राप्त गर्नेछन् ।
यसैगरी, ‘परान’ फिल्मको प्रचारका लागि स्वयंसेवकहरूले क्यूआर कोडसहित शहरका विभिन्न भागमा घुम्नेछन् । शो क्रममा क्यूआर स्कान गरी फिल्मको ट्रेलर वा गीत सेयर गर्ने ५० जनालाई कलाकारहरूसँगै फिल्म हेर्ने अवसर प्रदान गरिनेछ । दुवै प्रतियोगितामा रिलिजको एक सातासम्म अर्थात् कार्तिक २० गतेसम्म सहभागिता जनाउन सकिनेछ ।
गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाको प्रत्यक्ष सहभागितामा निर्माण भएको यो फिल्मलाई नेपाली रजतपटले विशेष रूपमा हेरेको छ । फिल्ममा शेखर गोल्छासँगै तीन दशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ । बिजनेस क्षेत्रमा छुट्टै पहिचान बनाएका यी दुई व्यक्तिको आगमनका कारण सशक्त फिल्म बन्ने अपेक्षा दर्शकहरूमा छ ।
फिल्मले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ । शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाहको अभिनय छ। सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो उनको पहिलो फिल्म हो । केही समयअघि सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।
फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बालकलाकारहरू आर्यदीप आचार्य र आरभजंग अधिकारीको अभिनय छ ।










