फिल्म । तिहारलाई लक्षित गरी असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ले दर्शकको उत्साहजनक साथ पाएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @ सिनेमा’का अनुसार यो फिल्मले प्रदर्शनको पहिलो तीन दिनमा २ करोड २२ लाख ८१ हजार ६ सय ९८ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
फिल्मका अभिनेता अनमोल केसीका अनुसार, फिल्मले पहिलो दिन असोज ३१ गते ७२ लाख ५९ हजार ४ सय ८ रुपैयाँ, दोस्रो दिन ८६ लाख ३८ हजार २ सय १० रुपैयाँ र तेस्रो दिन ६३ लाख ८४ हजार ८० रुपैयाँको ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको शुरुदेखि नै फिल्म हलमा पुगेर दर्शकसँग अन्तरक्रिया गरिरहेका अभिनेता केसीले झन्डै डेढ वर्षको मेहनतले तयार भएको यो फिल्मले दर्शकको अपेक्षा पूरा गरेकोमा खुशी व्यक्त गरे । उनका अनुसार, तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले यो फिल्म हेरेका छन् ।
फिल्ममा अनमोल केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ। सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।फिल्मको कथा हेमराज विसीले लेखेका हुन् भने विश्वास तिम्सिनाले पटकथा र दुलिप रेग्मीले छायांकन गरेका छन् । ‘जेरी अन टप’लाई रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।










