‘अभिमन्यु : च्याप्टर १’ असोज २४ रिलिज हुने

फिल्म । सुशान्त गौतमले निर्देशन गरेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ असोज २४ गतेदेखि नेपाली र हिन्दी दुवै भाषामा नेपालभर तथा भारत र विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । असोज १३ गते दशैंको फूलपातीमा रिलिज हुने भनिएको यो फिल्म चार अन्य नेपाली फिल्मसँगै एकै दिन प्रदर्शनमा आउने भएपछि शो सङ्ख्या कम हुने चिन्ताले नयाँ मिति सारिएको हो ।

निर्माण पक्षले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको फिल्म ‘अभिमन्यु’ देशमा भएको जेनजी आन्दोलनका कारण स्थगन गर्नुपरेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै फिल्महरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली फिल्महरूलाई समेत असर पार्ने अवस्था देखियो । यी सबै पक्षलाई विचार गरी हामीले शुभ साइत असोज २४ गतेबाट फिल्मको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ । यस दिन फिल्मलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउँछौँ ।’

निर्माण पक्षका अनुसार, यस पटक फिल्मले सोलो रिलिजको मौका पाएको छ, जसलाई फाइदाजनक अवसरका रूपमा लिइएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

क्रिएटिभ निर्देशक मदन थापा र मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन् । लाइन प्रोड्युसर जीवन शाक्य हुन् । शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ संयोजन र मदन घिमिरेको सम्पादन रहेको यो फिल्म हिन्दी संस्करणसँगै भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने भएकाले नेपाली सिनेमाका लागि ठूलो अवसरका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्