फिल्म । नेपाली फिल्म ‘कबड्डी’ मा अभिनय गरेपछि अभिनेत्री रिश्मा गुरुङको परिचय नै मैया बन्यो । अभिनेता दयाहाङ राईको अधुरो प्रेमका रुपमा चिनिएको पात्रले आम दर्शकसम्म रिश्मालाई पुर्यायो । त्यसपछि केही फिल्ममा देखिएकी उनी हराएको लामो समय भईसकेको छ । तर, आगामी शुक्रबार अर्थात् भदौ २० मा प्रदर्शन हुने फिल्म ‘रिमै’ मार्फत पुनः उनी पर्दामा फर्किएकी छिन् । फिल्मको सार्वजनिक ट्रेलर हेर्दा ‘कबड्डी’ झैँ लाग्न सक्छ । किनकि यहाँ पनि सोल्टा सोल्टिनीको अधुरो प्रेम देखाईएको छ । तर, फिल्म भिन्न परिवेश र संस्कृतिमा तयार भएको छ ।
गुरुङ समुदायको संस्कृति र कथावस्तु समेटिएले रिश्माले फिल्म खेल्ने मन गरेकी रहिछिन् । ‘गुरुङ समुदायको कथा भएकाले यो फिल्ममा काम गर्न मन लाग्यो । यदि यो अर्कै कथाको फिल्म भएको भए सायद मैले काम गर्ने थिइनँ’, उनले भनिन् । उनले स्क्रिप्ट पढेपछि काम गर्न उत्साहित भएको बताइन् । निर्देशक खिलबहादुर गुरुङले आफूलाई फिल्मका लागि अनिवार्य भएको बताएपछि उनले अमेरिकाबाट फर्केर काम गरेको खुलासा गरिन् ।
‘सुरुमा मलाई विश्वास लागेन । तर, दया दाइ र टिमसँग कुरा भएपछि यो गुरुङ समुदायको मुख्य कथामा बनेको पहिलो फिल्म भएको थाहा पाएँ,’ उनले भनिन्, ‘मैले काम नगरे फिल्म नै नबन्ने कुराले मलाई प्रेरित गर्यो ।’ उनका अनुसार, गुरुङ समुदायमा छोरीको महत्व छोराभन्दा बढी हुन्छ । यही कथालाई ‘रिमै’ ले प्रस्तुत गर्नेछ ।
खिलबहादुर गुरुङको निर्देशनमा बनेको यो फिल्म गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन् । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङको सम्पादन छ।










