‘अभिमन्यु : च्याप्टर १’को टाइटल ट्र्याकमा भियोमा

फिल्म । आगामी भदौ २७ मा प्रदर्शन हुने फिल्म ‘अभिमन्यु : च्याप्टर-१’को टाइटल ट्र्याक सार्वजनिक गरिएको छ । र्‍यापर भियोमाको शब्द, संगीत र स्वरमा सजिएको यो ट्र्याकले जीवनको रहस्यमय पक्ष र पैसाले मान्छेको चरित्रमा ल्याउने परिवर्तनलाई चित्रण गरेको छ । ट्र्याकले पैसाको लोभमा माया साट्ने र सम्बन्ध टुट्ने यथार्थलाई उजागर गर्छ ।

षड्यन्त्रको जालोमा फसेको तनावपूर्ण जीवन र त्यसबाट उम्कने प्रयासलाई र्‍यापले जीवन्त रूपमा प्रस्तुत गरेको छ । फिल्मले पनि यही कथालाई पछ्याउँदै पैसाको चक्रव्यूहमा फसेका पात्रहरूको संघर्षलाई देखाउने निर्माण पक्षले बताएको छ । भिडियोमा भियोमा स्वयं फिचर्ड छन् भने फिल्मका गतिशील दृश्यहरू समावेश छन् । यो ट्र्याकले पैसाको पछाडि दौडने पात्रले भोग्ने समस्यालाई थप प्रष्ट्याउँछ ।

यसको हिन्दी संस्करण असोज ६ मा विश्वव्यापी रिलिज हुनेछ । फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् । निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् । कार्यकारी निर्माताहरूमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रंग सम्योजन, मदन घिमिरेको सम्पादन र शरद महतोको डिओपी छ ।

कमेन्ट गर्नुहोस्