फिल्म । उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा राजधानीको फिल्म विकास बोर्डमा आयोजित ‘तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२’ मा विभिन्न क्षेत्रका नारी व्यक्तित्व सम्मानित भएका छन् । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ र उपमा सञ्चारकी अध्यक्ष आशा गौतमले सम्मान प्रदान गरे ।
फिल्म, संगीत, कला, साहित्य, शिक्षा, खेल, राजनीति, व्यवसाय र सामाजिक सेवामा योगदान पुर्याउने नारीहरूलाई ‘तीज विशेष नारी सम्मान–२०८२’ अर्पण गरिएको थियो । ‘तीज विशेष नारी दीर्घ सम्मान’ अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्रीहरू मिथिला शर्मा, लक्ष्मी गिरी, रमा थपलियालाई प्रदान गरियो ।
‘तीज विशेष नारी सम्मान’ गायिकाहरू सरिता भारती, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, अभिनेत्रीहरू हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोललाई प्रदान गरियो । ‘तीज नारी सम्मान’ गायिका पवित्रा रसाइली, माया निरासी, पुष्पा पौडेल, पत्रकारहरू मिना बज्राचार्य, भाषा शर्मा, पूनम पौडेल, प्रतिमा सैजु, गीता अधिकारी, सिर्जना खतिवडा, अभियन्ता तथा पूर्वप्रहरी निरीक्षक जलु गुरुङ, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालकी पहिलो महिला अध्यक्ष भुमिका सुब्बा, पूर्वप्रहरी सहायक निरीक्षक तथा नृत्यांगना कल्पना गुरुङ, नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का, रेस्लर मुना श्रेष्ठ, व्यवसायी मञ्जु तिमिल्सिनालाई प्रदान गरियो ।
यस्तै, हालै नियुक्त केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरू सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुबेर गिरी र चलचित्र विकास बोर्डका नवनियुक्त सदस्यहरू बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी, गणेश प्रसाद सुवेदीलाई बधाईसहित कदरपत्र प्रदान गरियो । विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानले सधैं प्रोत्साहन प्रदान गर्ने भन्दै सबै सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
अग्रज गायिका ज्ञानु राणाले ‘सिरिमा सिरि नि कान्छी’ गीत गाएर दर्शकलाई नचाइन् । प्रमुख अतिथि मन्त्री बलराम अधिकारीले यस्ता कार्यक्रमले गौरव महसुस गराउने बताए । प्रतिनिधि सभा सदस्य मनरुपा शर्माले नारी सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको र यस्ता कार्यक्रम निरन्तर गर्न सुझाव दिइन् । आयोजक तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले तीजलाई नारी सशक्तीकरण र संस्कृति संरक्षणसँग जोड्दै यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।










