फिल्म । निर्देशक ऋषि लामिछाने सानो पर्दामा होस् वा ठूलो पर्दामा दर्शक रुवाउन माहिर रहेको प्रष्ट छ । उनका फिल्मको सूची हेर्ने हो भने अधिकाँसमा पारिवारिक र भावनात्मक छन् । यद्यपि, निर्देशक लामिछाने आठ वर्षपछि फरक शैलीको फिल्म लिएर दर्शकसामु आउदैछन् । ‘माग्ने राजा’ मा यसपटक उनले देखाउने गरेको भावनात्मक शैली छ तर त्यसमा हास्य शैली हावी भएको छ ।
‘माग्ने बुढा’ को रुपमा परिचित केदार घिमिरेको शिर्ष भूमिका रहेको फिल्मको सार्वजनिक सामग्रीले दर्शकको मन जितिरहेको छ । भदौ ६ गतेबाट रिलिज हुने फिल्म ‘माग्ने राजा’मार्फत उनले दर्शकलाई हाँसो र सन्देशको अनुपम मिश्रण पस्कने तयारी गरेका छन् ।
‘दर्शक धेरै रोइसके, अब हँसाउनुपर्छ भनेर यो फिल्म बनाएँ । यसमा मैले देखाउने गरेका सबै तत्व छन्, तर यसपटक मनोरञ्जनात्मक फिल्म तयार गरेको छु’, उनले भने । फिल्मले हाँसोमात्र होइन, सन्देश पनि बोकेको उनको भनाइ छ ।
‘यो सन्देशले दर्शकलाई हलबाट निस्कँदा सोच्न बाध्य बनाउनेछ । निर्देशकले सधैं दर्शकसँग जोडिरहनुपर्छ, चाहे त्यो सिरियल होस् वा अन्य माध्यम । अहिले ठूलो पर्दामा कथा भन्ने समय आएको महसुस भएर ‘माग्ने राजा’ बनाएँ’, उनले भने ।
उनका अनुसार ‘माग्ने राजा’ ले भुइँमान्छेको कथा बोकेको छ, जुन हरेक नेपालीसँग जोडिन्छ । मुनाल घिमिरेले निर्माण गरेको ‘माग्ने राजा’मा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय रहेको छ । हाँसो र सन्देशको मिश्रण रहेको फिल्मका लेखक समीप्यराज तिमल्सेना हुन् ।












