अगस्ट २३ मा सिड्नीमा प्रिमियर हुँदै ‘अञ्जिला’

फिल्म । नेपाली महिला फुटवल टिमकी गोलरक्षक तथा पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधिरित रहेर तयार गरिएको फिल्म ‘अञ्जिला’ अस्ट्रेलियाको सिड्नीमा आउँदो अगस्ट २३ तारिखमा प्रिमियर अर्थात् पहिलो प्रदर्शनी हुने भएको छ । गएको जुलाई ३० मा एडिलेडबाट सुरू भएको प्रदर्शन सिड्नी, न्युक्यासल, ब्रिसबेन, मेलबर्न लगायतका सहरमा प्रदर्शन हुने खेलाडी सुब्बाको गडफादरका रुपमा परिचित निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

‘अञ्जिला नेपालमा प्रदर्शन भएको समयमा विविध कारणले हामीले अस्ट्रेलियामा फिल्म प्रदर्शन गर्न सकेनौँ । नेपालसँगै विश्वभरबाट पाएको मायासँगै यहाँ अस्ट्रेलियामा रहनु भएका खेलाडी र दर्शकले फिल्म बारे धेरै जिज्ञासा राख्नु भएको थियो । अन्ततः म फिल्म लिएर यहाँ आएको छु, अब विभिन्न सहरमा फिल्म प्रदर्शन गर्ने हाम्रो तयारी रहेको छ’, निर्माता श्रेष्ठले भने ।

नेपालमा प्रदर्शनको एक सय दिन पुरा गरेको उक्त फिल्म ‘अञ्जिला’ सिड्नीको अबर्नमा रहेको रिडीङ सिनेमामा आगामी २३ अगस्टमा साँझ ६ बजे प्रिमियर हुँदैछ । स्थानीय पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा पहिलोपटक उक्त चलचित्रको प्रदर्शनी गर्न लागेको हो । ३५ डलरको टिकेट खरिद गरेर चलचित्र हेर्न सकिने निर्माता श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त फिल्ममा खेलाडी सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्माता श्रेष्ठले खेलाडी सुब्बाकै गडफादरको भूमिका निर्वाह गरेका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको उक्त फिल्म खेलाडीको विषयमा तयार भएको पहिलो सफल नेपाली फिल्म हो । निर्माता श्रेष्ठले फिल्म प्रदर्शनको उदेश्य ‘अञ्जिलाको आफ्नै घर’ अभियान रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्