बक्सअफिसमा रेकर्ड तोड्दै ‘सैयारा’

फिल्म । अहान पाण्डे र अनीत पड्डा अभिनीत भारतीय फिल्म ‘सैयारा’ ले बक्स अफिसमा आक्रामक सुरुआत गरेको छ । यो फिल्मले नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्मको रेकर्ड कायम गरेको छ । यशराज फिल्म्सको ब्यानरमा बनेको यो म्युजिकल रोमान्टिक फिल्ममा मोहित सुरीको निर्देशन रहेको छ, जसले पहिले ‘आशिकी २’, ‘एक भिलेन’ जस्ता सफल प्रेमकथानक फिल्महरू दिइसकेका छन् ।

अग्रिम टिकट बुकिङमा आक्रामक प्रदर्शन गरेको फिल्मले पहिलो दिन भारतमा २१ करोड २५ लाख भारूको व्यापार गरेको छ । यो उपलब्धिले २०२५ कै चौथो ठूलो ओपनिङ दिने फिल्मको कीर्तिमान पनि बनाएको छ, जसले धेरै स्टार अभिनीत फिल्महरूलाई पछाडि पारिदिएको छ । नेपालमा समेत यो फिल्मले सुरुआती व्यापार शानदार गरेको छ । धेरै पछि नयाँ कलाकारको फिल्म हेर्ने नयाँ पुस्ता हल छिरेको वितरक तथा प्रदर्शकले बताएका छन् ।

दोस्रो दिन शनिबार फिल्मले झन्डै २४ करोड ५० लाख भारूको कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । योसँगै दुई दिनको कुल कमाइ ४५ करोड ७५ लाख भारू पुगेको छ । पहिलो तीन दिनमै फिल्मले ५० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

फिल्मको बजेट ४५ करोड भारू रहेको बताइएको छ र यदि यो रफ्तार कायम रह्यो भने केही दिनमै लागत सुरक्षित हुने देखिन्छ । आम दर्शक र समीक्षकबाट समेत फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । म्युजिक र कथाले दर्शकको मन जित्न सफल भएको भन्दै विशेष प्रशंसा भएको छ । यो फिल्मले नयाँ प्रतिभाहरू अहान पाण्डे र अनीत पड्डाको करिअरको सुरुआतलाई पनि उजागर गरेको छ र बक्स अफिसको यो सफलताले बलिउडमा नयाँ युगको सुरुआत भएको संकेत दिएको छ ।

कमेन्ट गर्नुहोस्