‘मैझारो’ मा दिया

फिल्म । अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ ।

‘मैझारो’ मा धिरज, मिरुना र दियाबाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइसकेको छैन । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ । तक्मे प्रोडक्सन को ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ । फिल्मको छायांकन साउन पहिलो साता बाट सुरु हुनेछ भने इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ ।

फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राई ले दिनेछन् । गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतको स्वर रहनेछ। छायांकन सौरभ लामा ले गर्ने भएका छन् ।

निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुवैमा डेब्यु प्रोजेक्ट हो । यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्