फिल्म । माओत्से गुरुङसँग दोस्रो सहकार्यनिर्देशक माओत्से गुरुङको दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि गुरुङको डेब्यू निर्देशकीय फिल्म ‘दयारानी’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए । निर्देशक गुरुङले यो सहकार्यलाई थप परिष्कृत बनाउँदै दर्शकलाई उत्कृष्ट फिल्म पस्कने बताए ।
कार्तिक तेस्रो साताबाट छायांकन सुरु हुने यो फिल्मको कथा भूतपूर्व लाहुरेसँग जोडिएको जस्तो लागे पनि लोभी केटाले दानी बन्ने यात्रालाई प्रस्तुत गर्छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका छन् । दयाहाङबाहेक अन्य कलाकारको टुंगो चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए ।
फिल्मको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपास हुने निर्माण टिमले जनाएको छ । सुशन प्रजापतिले छायांकन गर्ने यो फिल्मको कास्टिङ डाइरेक्टर सुरज तमु हुन् । माओत्से गुरुङको पहिलो फिल्म ‘दयारानी’ बक्स अफिसमा हिट भएको थियो । चरित्र अभिनेताका रूपमा पहिलो रोजाइमा पर्ने गुरुङ पछिल्लो समय लेखन र निर्देशनमा पनि सक्रिय छन् । उनले यसअघि गुरुङ भाषाका फिल्महरू निर्देशन गरेका थिए । उनी अभिनेता, निर्देशक र निर्माताको त्रि-भूमिकामा समेत स्थापित छन् ।