हिन्दी भाषामा आयो ‘झिमझिमाउने आँखा’

सङ्गीत । नेपाली गायक एकदेव लिम्बु र बलिउड गायिका नेहा कक्करसँग सहकार्यमा तयार भएको हिन्दी संस्करणको गीत ‘झिम झिम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा हिन्दी र नेपाली शब्दको सुन्दर मिश्रण देख्न सकिन्छ । नेहाले हिन्दीमा गाएकी छिन् भने एकदेवले आफ्नो ग्लोबल हिट नेपाली गीत ‘झिमझिमाउने आँखा’ को नेपाली संस्करणलाई नै निरन्तरता दिएका छन् । यो ‘म्यासअप’ ले दुई भाषा र दुई कलाकारलाई एकसाथ जोड्ने प्रयास गरेको छ ।

सार्वजनिक भिडियोमा चर्चित भारतीय कलाकारहरू ऋत्विक साहोर र प्रिया प्रकाश वारिअर ले अभिनय गरेका छन् । भव्य महलमा भइरहेको विवाहको सेटिङमा भिडियो छायांकन गरिएको छ, जसले भिडियोलाई आकर्षक बनाएको छ ।

‘झिमझिमाउने आँखा’ एकदेव लिम्बुको विश्वव्यापी रूपमा सफल गीत हो, जुन युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको थियो । यो गीत स्पोटिफाईमा भारतका ५० भाइरल गीतको सूचीमा पनि अटाएको थियो । यस गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पाले समेत अभिनय गरेकी थिइन् । हिन्दी भिडियोमा भने भारतीय कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्