फिल्म । तीन वर्षको विश्रामपछि बलिउड अभिनेता आमिर खान पुनः ठूलो पर्दामा फर्किन लागेका छन् । उनी मुख्य भूमिकामा देखिने फिल्म ‘सीतारे जमीन पर’ २०२५ जुन २० मा प्रदर्शन हुने भएको छ । यो फिल्म केवल आमिरका लागि मात्र होइन, उनको परिवारका लागि पनि विशेष बनेको छ । फिल्ममार्फत आमिरकी ९१ वर्षीय आमा जीनत हुसैनले बलिउड डेब्यु गर्दैछिन् । आमिरले नै सञ्चारमाध्यमलाई जानकारी दिँदै आमाको फिल्ममा सहभागिता पुष्टि गरेका हुन् । जीनत हुसैनको जन्मदिन १३ जुनमा पर्छ, जसको ठीक एक सातापछि फिल्म रिलिज हुँदैछ ।
यो फिल्ममा आमिरकी बहिनी निखत खान पनि देखा पर्नेछिन् । आमिरका अनुसार यो पहिलो पटक हो जब उनी पर्दामा आफ्नी आमासँगै देखिँदैछन् । आमिरले भने,‘आमाले अहिलेसम्म फिल्मको सुटिङ वा लोकेशनबारे खास चासो देखाउनुभएको थिएन। तर जब म सीतारे जमीं पर को अन्तिम गीतको सुटिङमा थिएँ, उहाँले फोन गरेर सेटको लोकेशन सोध्नुभयो र आउँदैछु भन्नुभयो ।’
उक्त सेटमा निर्देशक आर.एस. प्रसन्नाले आमिरकी आमालाई विवाहको गीतमा अतिथि पाहुनाका रूपमा समावेश गर्न प्रस्ताव राखे । निर्देशकको अनुरोधबारे आमिरले भने, ‘उहाँ निकै जिद्दी हुनुहुन्छ, म उहाँलाई फिल्ममा काम गर्न भन्न सक्दिनँ । तर प्रसन्नाले बारम्बार अनुरोध गरेपछि म आमाकहाँ गएँ ।’
मैले आमालाई भने, ‘प्रसन्नाले तपाईंलाई पाहुना बन्न अनुरोध गर्दै हुनुहुन्छ ।’ त्यो सुनेर उहाँले सहजै भन्नुभयो, ‘ठीक छ ।’ म एकदमै छक्क परेँ । उहाँ दुई-तीन शटमा देखिनुहुनेछ । यो मेरो एक मात्र फिल्म हो, जसमा उहाँ पार्ट बन्नुभएको छ’, आमिरले थपे ।
आमिरको परिवारका लागि भावनात्मक रूपमा जोडिएको यो फिल्ममा दर्शकले केवल कलाकारिता मात्र होइन, पारिवारिक सम्बन्धको झल्को पनि पाउनेछन् ।










