फिल्म । निर्माणाधिन फिल्म ‘परालको आगो’ मा पुरानै कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समावेश हुने भएको छ । निर्माण पक्षले सङ्गीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ । सुशिल पोखरेलको निमार्णमा बन्न लागेको फिल्म ‘परालको आगो’ का लागि संगीतकार ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो ।
चार दशक अघि निर्माण भएको फिल्म ‘परालकै आगो’ को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए । सङ्गीतकार ठटालको सङ्गीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर रहेको छ। यो कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन,बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ।
फिल्मका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी गीतका लागि अनुमती लिइएको निर्माता पोखरेलले बताए । उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ । सङ्गीतकार ठटालले आफुले यो गीत परालको आगोमा समावेश गर्नअनुमति दिएको बताएकी छन् ।
उनले भनिन्,‘श्री ॐ सिने मेकर्स प्रा.लिबाट निर्माण हुन लागेको गुरु प्रसाद मैनालीको कथा रहेको फिल्म ‘परालको आगो’ मा उल्लेखित शब्द र मैले कम्पोज गरेको सङ्गीत ‘उडी जाउँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ पुन निर्माणाधिन फिल्म ‘परालको आगो’ मा प्रयोग गर्न मेरो पुर्ण मन्जुरी छ। साथै फिल्मको अपार सफलताको हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छु ।’
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा अभिनेताद्धय जितु नेपाल, प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । केहि साताअघि निर्माण टिमले उनीहरुलाई अनुबन्धित गरेको हो । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।
यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए । निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।








