फिल्म । भारतीय अभिनेता अजय देवगन पारिवारिक क्राइम थ्रिलर ‘दृश्यम’ को तेस्रो भागमा विजय सालगाउँकरको भूमिकामा फर्कने पक्का भएको छ । महिनौंसम्म चलेको अनुमान र चर्चालाई चिर्दै निर्माताहरूले बम्बे स्टक एक्सचेन्जमार्फत ‘दृश्यम ३’ को निर्माण पुष्टि गरेका छन् । यो फिल्म अक्टोबर २, २०२६ मा गान्धी जयन्तीको अवसरमा विश्वभरका हलहरूमा रिलिज हुने तय भएको छ । हाल यसको स्क्रिप्ट लेखनको काम भइरहेको छ भने छायांकन यो वर्षको अन्त्यबाट सुरु हुने अनुमान छ ।
‘दृश्यम ३’ पानोरमा स्टुडियो र भायाकम १८ स्टुडियोको सहकार्यमा निर्माण हुँदैछ । फिल्मको निर्देशन अभिषेक पाठकले गर्नेछन्, जसले ‘दृश्यम २’ को पनि निर्देशन गरेका थिए ।
गान्धी जयन्ती सन् २०२६ २०२६ मा हालसम्म कुनै अन्य ठूलो फिल्मको रिलिज मिति तय भएको छैन । यद्यपि, बलिउडमा चर्चा छ कि सुपरस्टार शाहरुख खानको निर्देशक सिद्धार्थ आनन्दसँगको फिल्म ‘किंग’ पनि सोही मितिमा रिलिज हुन सक्छ । तर, यो विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।
यसैबीच, मलयालम सुपरस्टार मोहनलाल अभिनीत ‘दृश्यम ३’ को मूल मलयालम संस्करण पनि हालै घोषणा भएको छ । तर, यसको छायांकनको समयसीमा अझै तय भएको छैन । यो पटक मलयालम र हिन्दी दुवै संस्करणको कथावस्तु फरक हुन सक्ने बताइएको छ ।
‘दृश्यम’ शृंखलाका प्रशंसकहरूका लागि यो घोषणाले उत्साह थपेको छ । अजय देवगनको अभिनय र थ्रिलर कथावस्तुको यो तेस्रो भागले पनि दर्शकलाई बाँधिराख्ने अपेक्षा गरिएको छ ।












