फिल्म । नेपाली फिल्म ‘के घर के डेरा: घर नं. २’ आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको माया पाइरहेको यो फिल्मले आम नेपालीको जीवनसँग जोडिएको कथालाई उठान गरेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार, दर्शकले फिल्मको कथावस्तु र प्रस्तुतिलाई खुलेर तारिफ गरिरहेका छन्।
‘फिल्म हेर्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । राम्रो वर्ड अफ माउथका कारण दर्शक संख्या अझै बढ्ने विश्वास छ’, निर्देशक दीपेन्द्र के खनालले भने । वितरक करण श्रेष्ठका अनुसार, फिल्मका शोहरू थपिँदै छन् र केही हलमा उच्च अकुपेन्सी हुनेमा निर्माण पक्ष ढुक्क छ । दर्शकले यो फिल्मलाई ‘आम नेपालीको घरघरको कथा’ भन्दै प्रशंसा गरेका छन् ।
साहित्यकार बुद्धिसागरद्वारा लिखित कथामा आधारित यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुबिना घिमिरे, सुरज विष्टलगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा बनेको यो फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका छन् । युवराज कार्की कार्यकारी निर्माता रहेका छन् भने नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माताको भूमिकामा छन् ।










