फिल्म । दिवाकर भट्टराई निर्देशित फिल्म ‘नरसिंहा अवतार’ को अग्रिम बुकिङ तथा टिकट विक्री हिजो (मंगलबार) साँझदेखि खुला गरिएको छ । जेठ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मको देशभर शो खुलेको हो । देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आइएनआई, वान सिनेमाज, एफक्यूबलगायतका मल्टिप्लेक्सहरुले यसलाई शो दिएको बताइएको छ ।
वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने प्रक्रिया जारी राखेका छन् र आज (बुधबार) र भोलि (बिहीबार) बिहानसम्ममा देशभरका हलहरूको शोको यकिन तथ्यांक प्राप्त हुनेछ । यस फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
अभिनेता हमालको यो आठ वर्षपछिको फिल्म हो । चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ । क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।









