सहकारी ठगीको कथामा ‘महाभोज’

फिल्म । यही जेठ १५ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म युनिटले समसामयिक विषयवस्तुका बारेमा पत्रकार तथा प्रेक्षकलाई परिचित गराए ।

ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ । यसमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ ।

आफूले दैनिक जम्मा गरेको रकमको कारण मृत्युमा समेत परिणत भएको विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप प्रकट गर्दछ । सहकारी संस्थामा पहुँच राख्नेहरूले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले साहसिक रूपमा उजागर गरेको छ । ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले फिल्मले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ । केही दिनअघि फिल्मका सबै कलाकारले आफ्नो सामाजिक सञ्जालमा एउटै स्ट्याटस ‘सत्य कहिल्यै लुक्दैन’ पोस्ट गरी उत्सुकता फैलाएका थिए ।

निर्देशक दिनेश राउतले समारोहलाई सम्बोधन गर्दै भने, ‘समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू पछिल्लो समय मात्र बढेका होइनन् । अहिलेको समयमा यो विषय तातेको भएर मात्र पनि यो कथालाई पर्दामा उतार्ने प्रयोजन बनाएका होइनौँ । हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा हो, सहकारीको कथा एक कारक मात्र हो ।’

निर्माता हिमाल कडरियाले थपे, ‘पैसा मात्र प्रलोभन होइन, हाम्रो समाज आफैँले उत्पादन गरेको कथा हुनु आवश्यक थियो । त्यसैबाट ‘महाभोज’ जन्मियो ।’ विकास सुवेदीले कथा तथा पटकथा लेखेको यसलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्