यसकारण खगेन्द्र ‘के घर के डेरा : घर नं २’ मा जोडीए

फिल्म । अभिनेता खगेन्द्र लामिछानेले जेठ २ गते देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नं २’ मा धेरै पात्रहरू रहे पनि कथाको उठान र पात्रको ‘ल्याण्डिङ’ निकै सशक्त रहेको बताएका छन्। उनले फिल्मको पटकथाको प्रसंशा गरे । ‘मैले पनि लेख्ने काम गर्ने भएकाले धेरै पात्र हुँदा कथालाई सन्तुलित राख्न कठिन हुन्छ। तर, यसमा हरेक पात्रको ल्यान्डिङ सहज देख्दा म आफैँ छक्क परेँ। यी पात्रहरू एक आपसमा माला झैँ बुनिएका छन्’, उनले भने । उनले फिल्ममा जोडिनुको मुख्य कारण निर्देशक दीपेन्द्र के खनाल रहेको बताए । उनी उक्त समयमा ‘विमान’ नामक फिल्मको प्रि प्रोडक्सनमा आवद्ध थिए । निर्देशक खनालको प्रस्तावलाई नाईभन्न नसकेर उनी फिल्ममा अभिनय गर्न सहमत भए । ‘मैले दीपेन्द्र जीलाई नो भन्न नसकेर नै आवद्ध भएँ । तर, यसको पटकथा र पात्रको बनोटलाई निकै मेहनत गरेर तयार गरिएको छ । यो फिल्मले सहरका गरिवीलाई देखाउँछ’, उनले भने । उनले दिनभर अभिनेताको रुपमा फिल्मको छायांकन गरेर बेलुकीको समयमा ‘विमान’ को काम गर्थे । चरित्र निर्माणको काममा लामो समय दिन नसक्ने भएपछि उनले यसपटक पूरै जिम्मेवारी निर्देशकलाई सुम्पिएका छन् । यसअगाडि उनले ‘दिमाग खराब’ छायांकन गर्दा पनि ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा निर्माताको कार्यभार सम्हाल्ने हुँदा निर्देशक निश्चल बस्नेतलाई सुम्पिएका थिए । ‘यसपटक म पुर्णरुपमा निर्देशक अनुसार प्रस्तुत भएको छु । मैले यस्तो दोस्रो पटक गरेको हुँ, यस्तो गर्नुको कारण मैले विश्वास गर्ने निर्देशक भएकाले पनि हो । मैले उहाँहरूसँग पहिला काम गरिसकेको छु, सोही कारण म उहाँहरूको भावना बुझ्छु’, उनले भने । फिल्मको कथा गाउँबाट सहर छिर्ने मान्छेहरूको संघर्ष र घर-डेराको भावनात्मक कथा हो भन्ने खगेन्द्रको बुझाइ छ । साहित्यकार बुद्धिसागरद्वारा लेखिएको कथामा आधारित फिल्ममा अभिनेता लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्ट लगायत कलाकारको अभिनय छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुती रहेको फिल्ममा कृष्णबहादुर थापाछायाँकार छन् । यसको कार्यकारी निर्माता युवराज कार्की हुन् भने नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता हुन् ।
कमेन्ट गर्नुहोस्