‘नरसिंहाः अवतार’को संवाद चर्चामा, राज र सनिषा उत्साहित

फिल्म । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को एक संवादले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । विशेषगरी नायक राज कटुवाल र नायिका सनिषा भट्टराईबीचको प्रेमिल संवादमा टिकटक प्रयोगकर्ताहरूले प्रशस्त भिडियो बनाएका छन् ।

फिल्मको ट्रेलरमा समावेश उक्त संवादमा राजले सनिषालाई भनेका छन्, ‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिदैन । तिमीलाई विर्सिएर कसरी सास फेर्नु।’ जवाफमा सनिषाले ‘को हौं तिमी मेरो?’ भनेकी छिन् । यही संवाद अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको रोजाइमा परेको हो।

संवादसँगै फिल्मको ट्रेलरमा नायक राज कटुवालको एक्सन अवतारको पनि प्रशंसा भइरहेको छ । दर्शकले संवाद मन पराएकोमा राज र सनिषा खुसी व्यक्त गर्दै फिल्ममा दर्शकले आफूहरूको प्रेमको विशेष पाटो हेर्न पाउने बताएका छन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्म एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथावस्तुमा आधारित छ । यसमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने निर्माता रहेको ‘नरसिंहाः अवतार’ले प्रदर्शनको दिन सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।

कमेन्ट गर्नुहोस्