फिल्म । गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा वसुन्धराले दयालाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन् । त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन् । भिडियो अनुसार, उक्त रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ ।
फिल्म ‘महाभोज’को टिजरमा पनि दयाहाङ सहकारीका अध्यक्षको भूमिकामा देखिएका थिए, जहाँ उनले बचतकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन् । नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय रहेको छ । ‘महाभोज’ नेपालसँगै नेपालीहरूको बसोबास रहेका अधिकांश देशमा एकैसाथ आगामी जेठ १५ मा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।










