यस्तो बन्यो ‘ऊनको स्वीटर’ को टिजर

फिल्म । विपिन कार्की र मिरुना मगरको अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ । यसमा विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय रहेको छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ ।

विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइहरू बुन्न खोजिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । विपिनले साङ्केतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने, मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको सङ्केत गरेकी छन् ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर फिल्म हो । सुजन चापागाईँको सङ्गीत रहेको फिल्मलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह-लेखन रहेको छ । यसमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्