फिल्म । पटकथा लेखक माधव शर्माले ‘होस्टेल ३’ को पटकथा र संवाद लेख्दै गर्दा ‘होस्टेल’ शृङ्खलाको साख जोगाउने दायित्व रहेको बताएका छन् । फिल्म व्यवसायिक रुपमा सफल भएपछि लेखकसँगै एशोसियट निर्देशकसमेत रहेका शर्माले कलेज जीवनका रमाइला क्षणसँगै चुनौतीहरूलाई पनि पर्दामा उतारेको बताएका छन् । यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता फिल्ममा लेखन टिममा रहेर काम गरेया शर्माले ती अनुभवकै कारण ‘होस्टेल ३’ लाई युवाको फिल्म बनाउन सफल रहेको बताएका छन् ।
‘फिल्म बन्नका लागि सबैभन्दा ठुलो कुरो भनेकै कथा हो भने, कथा भन्ने शैली कस्तो हुन्छ त्यो नै सबैभन्दा ठुलो चुनौती हो । कथा भन्ने शैली प्रस्ट भएमा दर्शकले बुझेमा र त्यो कथालाई आफ्नो जस्तै मानेमा अथवा समसामयिक भएमा दर्शकहरूले अझै बढी अपनत्व लिन्छन्’, उनले भने । नयाँ लेखकहरूका लागि सल्लाह दिँदै शर्माले अध्ययन, व्यवहारिक ज्ञान, फिल्म हेर्ने बानी, आफ्नो भाषा र संस्कृतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनका अनुसार, यहाँ कस्तो परिवेशको फिल्म बढी चल्छ, त्यसैलाई प्राथमिकता राखेर लेख्यो भने अझै बढी दर्शकको माया पाउन सकिन्छ ।
‘यो आफैमा हिट सिरिज थियो । मैले लेखिरहँदा अघिल्ला सिरिजको साखलाई तल झर्न दिनुहुन्नथ्यो । साथै यति धेरै पात्रहरू थिए, हरेक पात्रहरूलाई स्थापित र त्यसको ल्यान्डिङ गर्नु अनिवार्य थियो । त्यो नै एकदमै चुनौतीपूर्ण थियो’, उनले भने ।
सशान कँडेलले निर्देशन गरेको ‘होस्टेल ३’मा ‘कुलब्वाय’को नामले परिचित पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतका नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ ।
यसका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् । फिल्म नेपालसहित विदेशमा प्रदर्शनरत छ ।









