अञ्जिलाले भिडियो संदेशमार्फत दिईन् ‘धन्यवाद’

फिल्म । नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाले नेपाली दर्शकलाई धन्यवाद दिएकी छिन् । उनको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ हरेर साथ दिएको प्रति कृतज्ञता प्रकट गर्दै कप्तान सुब्बाले भिडियो संदेशमार्फत आभार प्रकट गरेकी हुन् । उनले आफू दर्शकसँग रहेर फिल्म हेर्न अधैर्य रहेको समेत बताएकी छिन् ।

‘म व्यावसायिक फुटवल खेल्न नेपाल बाहिर छु । नेपालमा फिल्म प्रदर्शन भएको र त्यसले पाएको प्रतिक्रियाले म खुसी छु । मेरो जीवन सङ्घर्षले थोरैलाई पनि प्रेरणा दिएमा मेरो फिल्म सफल भएको आभाष हुनेछ । म छिटै नेपालमा फिल्म हेर्न र दर्शक भेट्न आउने तयारीमा छु’, उनले भिडियो संदेशमा भनेकी छिन् ।

कप्तान सुब्बाले नेपाली महिला फुटवल प्रति देखिने सद्भाव र शुभेच्छा राखिराख्न समेत आग्रह गरेकी छिन् । होलीलाई लक्षित गर्दै गत फागुन २९ देखि प्रदर्शन भएको फिल्मले नेपालमा दर्शकको राम्रो साथ पाएको छ । फिल्म छिटै डायस्पोरा अन्तर्गत जापान, क्यानडा लगायतका देशमा छिटै प्रदर्शन हुँदैछ । बिहिबारदेखि दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अञ्जिला’ ले देशभर एक सात ४० शो पाएको छ ।

भोलिदेखि सुरु हुने नयाँ सप्ताहन्तमा सबैभन्दा धेरै शो मिलन चाम्स निर्देशित ‘अञ्जिला’को कब्जामा छ । अहिले पनि सर्वाधिक शो यही फिल्मको नाममा छ ।दोस्रो सातामा पनि ‘अञ्जिला’ले प्राप्त गरेको शो संख्या उत्साहजनक हो ।

यसका निर्देशक मिलन चाम्सले दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च मागले दिनानुदिन सफलताको नयाँ उचाई पाउन सफल रहेको बताए । राष्ट्रिय महिला फुटबल टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा देख्दा दर्शकहरू भावुक बनेका छन् । फिल्मलाई कप्तान सुब्बाको धर्मपिता प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्