विद्यार्थीलाई ‘अञ्जिला’ हेराउने अभियानमा विद्यालय

फिल्म । होलीलाई लक्षित गर्दै गत विहिबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मार्फत प्रेरनात्मक संदेश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई फिल्म हेराएको जनाएका छन् । आज यहाँ दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका तीन सय ६० विद्यार्थीले फिल्म हेरेका हुन् । पब्लिक स्कुलमा रहेका कक्षा ३ देखि १० सम्मका विद्यार्थीले फिल्म हेरेको स्कुलका अरविन्द कुमार मण्डलले बताए ।

उनले भने,‘हाम्रो बच्चालाई प्रोत्साहन मिलोस् भन्ने उदेश्यले फिल्म देखाएका हौँ । यो फिल्म हेरेर हाम्रो बच्चाले ‘नेभर गिभ अप’ भन्ने सिकेका छन् । मैले आफैँले फिल्म हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँ । म यसलाई १० मा १० नम्बर नै दिन्छु ।’ उनले आगामी दिनमा नै झन्डै एक हजार विद्यार्थीलाई फिल्म देखाउने बताए । बोर्डिङ स्कुलकी मनिषा मुखियाले फिल्मले बच्चालाई दिने संदेशका कारण पनि बच्चालाई हलमा ल्याएको बताइन । उनले भने,‘हामी कहाँबाट कक्षा ३ देखि ६ सम्मका विद्यार्थीले आएर फिल्म हेरिरहेका छन् । फिल्मले सङ्घर्ष, निरन्तरता र सफलता सिखाउँछ र बच्चाले फिल्म हेरेर सिक्ने भएकाले हामीले फिल्म देखाएका हौँ ।’

उनले शुक्रबार पनि एक सय ८० विद्यार्थीले फिल्म हेरिसकेको जनाइन । विद्यालय आफैँले विद्यार्थीलाई फिल्म हेर्न ल्याउनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताए । उनले फिल्मले दिएको संदेशलाई विद्यार्थीले बुझेको बताए ।

‘हामीले विद्यार्थीसँग सोध्दा उहाँहरूले ‘नेभर गिभ अप’ भन्ने सिकेको बताउनुभयो । हामीले दिएको संदेश नै सङ्घर्षले दिएको सफलता दिर्घायु हुन्छ भन्ने हो । यसलाई बुझ्नु भएको म अन्य विद्यालय पनि यो अभियानमा सहभागी हुन् आग्रह गर्छु’, निर्देशक चाम्सले भने ।

फिल्मका निर्माता तथा कप्तान सुब्बाका धर्मपिता प्रेमकुमार श्रेष्ठले दर्शकबाट पाएको प्रतिक्रियाले आगामी दिन अझैँ राम्रो हुने विश्वास व्यक्त गरे । उनले ‘अञ्जिलाको आफ्नै घर’ अभियानमार्फत घर बनाउने बताए । दर्शक चाँप आइतबार पनि राम्रो देखिएपछि दर्शकलाई भेट्न निर्माण समूह हलमा पुगिरहेका छन् । फिल्ममा कप्तान सुब्बा आफैँले अभिनय गरेकी छिन् । उनको फुटवल टेक्निकसँगै अभिनयको पनि राम्रो प्रसंसा भएको छ । उनले क्यामेरा फेस गर्नु अगाडि मण्डला नाटक घरमा अभिनय सम्बन्धी प्रशिक्षण लिएकी थिइन् ।

फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्