फिल्म । निर्माता, लेखक तथा अभिनेता दीपकराज गिरीले कथा तयार गर्दा नै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले कलम चलाउँछ भनेर सिर्जनामा सिमितता राख्नु पर्ने बताएका छन् । फिल्म ‘राजागञ्ज’ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नु भएको दृश्य हटाउन लगाएपछि फिल्मकर्मीहरूले एक भेला गर्दै यसको विरोध गरेका छन् । अभिनेता गिरीले लेखकले स्वतन्त्र भएर सिर्जना गर्न नसक्नु दु:खद रहेको बताए ।
उनले भने,‘सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको मेरो छक्का पञ्जा ४ लाई पुनः डेढ हप्तापछि सम्पादन गर्न लगायो । त्यहाँ प्रयोग गरिएको सहकारीको संवादमा आपती जनाएर केही डेलिगेशन सेन्सर बोर्ड पुगेपछि मलाई बोलाएर दृश्य काट्न लगाइयो । त्यहाँ मैले देखाएको कुरा झुटा हुन् भनेर प्रस्ट्याउन नसक्ने तर बल मिच्याई गरेर दृश्य काट्न लगाउने अनि आफैँले प्रदर्शन अनुमति दिए पनि सेन्सर बोर्ड अडिग रहन नसक्ने । यस्यो छ हाम्रो अवस्था ।’
उनले प्रहरीलाई ढुङ्गा हानेको एउटा दृश्य, प्रहरीले त भनेको संवादमा समेत सेन्सर बोर्डका प्रतिनिधिले आपति जनाउने गरेको बताए । उनले सेन्सर गर्ने बेलामा फिल्मका विज्ञ भन्दा पनि मन्त्रालयका कर्मचारीहरू आएर सेन्सर गर्नुले समस्या बढिरहेकोमा जोड दिए ।
‘फिल्म सेन्सर गर्न कर्मचारी आउँछन्, जसलाई सिर्जनाको बारेमा धेरै थाहाँ हुदैन । फिल्म सम्बन्धी विज्ञ भए बहस गर्न सकिन्छ तर सरकारको नुनको सोझो गर्नेले कहाँ हाम्रो कुरा बुझछन् ? प्रहरीको यो संवाद वा दृश्य नराख्नुस भनेर हामीलाई भन्नुको सट्टा जवानलाई सम्झाए त्यस्ता दृश्य नै आउदैनन् । हामीले समाजमा देख्ने विभिन्न पात्रलाई नै फिल्ममा ल्याउने हो, त्यो नै नबुझ्नेसँग के छलफल र के संवाद गर्ने ?’, अभिनेता गिरीले भने ।
मण्डला थियटरमा आयोजना गरिएको भेलामा निर्देशक दीपक रौनियार, मनोज पण्डित, उपेन्द्र सुब्बा, अशोक शर्मा, विनोद पौडेल, गणेशदेव पाण्डे, अभिनेता दयाहाङ राई लगायत सहभागी थिए ।










